नौरते नेपाली, जुम्ला ९ बैशाख । स्याउ बगैँचा व्यवस्थापनमा जुम्लाका महिलाहरु सक्रिय देखिएका छन् ।
आम्दानीको गतिलो स्रोत भएकाले स्याउ बगैँचामा महिलाहरु सक्रिय देखिएका हुन् । जुम्ला चन्दननाथ नगरपालिका खोलिकोट गाउँका महिलाहरु स्याउ बगैँचा व्यवस्थापनमा सक्रिय देखिएका छन् ।
भनेको समयमा बगैँचा व्यवस्थापन गर्दा आम्दानी राम्रो हुने भएकोले बगैँचा व्यवस्थापनमा सक्रिय भएको खोलिकोट गाउँका तारा सेजुवाले बताउनु भयो । पाँच हल जग्गामा ५ सय स्याउका विरुवा लगाएर आम्दानी राम्रो भएको उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका वडा नंं. ४ निवासी रामलिला बुढाले पनि व्यवसायका रुपमा च्याउ, तरकारी र स्याउ खेति गर्दे आएको जानकारी दिनुभयो । अन्य खेतीभन्दा च्याउ, तरकारी र स्याउबाट आम्दानी राम्रो लिन सकिने भएकोले व्यवसायका रुपमा गर्दे आएको उहाँले बताउनु भयो ।
एजेन्सी ७ बैशाख । मंगलबारदेखि तपाइँले गुगल सर्च इन्जिनमा परिवर्तन देख्न पाउनुहुन्छ । यदि तपाइँ आफ्नो स्मार्टफोन तथा ट्याब्लेटबाट केही सर्च गर्दै हुनुहुन्छ र त्यसरी सर्च गर्दा गुगलले उपलब्ध गराउने नतिजामा तपाइँले खोजको वेबसाइट झ्वाट्ट देखा परेन भने अचम्म नमान्नुहोस् ।
तपाइँले गुगल सर्चमा खोजको वेबसाइट चर्चित नै किन नहोस् र तपाइँले खोजेका विषयवस्तुले युक्त किन नहोस् तर गुगलको सर्च रिजल्टमा त्यो देखा नपर्न सक्छ । यसको कारण हो गुगलको सर्च इन्जिनमा हुन लागेको परिवर्तन ।
गुगलले मंगलबारदेखि आफ्नो सर्च इन्जिनमा तात्विक परिवर्तन ल्याउँदैछ, जसमार्फत उसले मोबाइल फ्रेण्डली वेबसाइटहरुलाई प्राथमिकता दिनेछ । गुगलले त्यस्ता वेबसाइटलाई प्राथमिकता दिएर पहिलो पेजमै देखाइदिनेछ जो मोबाइल फ्रेण्डली छन् । गुगलले तय गरेको यस्तो मापदण्डमा नअट्ने वेबसाइटहरु चाहे निकै चर्चित नै किन नहोउस् तर सर्च पेजमा प्राथमिकता पाउने छैनन् र निकै तल मात्र भेटिनेछन् ।
यद्यपि गुगललको यो फर्मूला डेक्सटप तथा ल्यापटपमा भने लागु हुनेछैन । स्मार्टफोन र ट्याबलेटमा मात्र लागु हुनेछ । पछिल्ला दिनहरुमा स्मार्टफोन मार्फत इन्टरनेट चलाउने तथा ‘गुगलिङ’ गर्ने मानिसहरुको संख्या निकै बढेको हुँदा गुगलको यस्तो परिवर्तनले ‘युजर बिहेवियर’लाई प्रभावित गर्ने र त्यसले वेबसाइटका भिजिटरको संख्यामा पनि उल्लेख्य घटबढ गर्ने सम्भावना छ ।
गुगलको परिवर्तन कस्तो छ त ?
१. गुगलद्वारा तय गरिएको मापदण्डमा फिट हुने वेबसाइटहरु यस्ता हुनुपर्नेछ की जो मोबाइल डिभाइसमा तुरुन्तै लोड हुन्छन् ।
२. वेबसाइटका ‘कन्टेन्ट’ पढ्नका लागि सजिलै सँग पेजको तल वा माथि ‘स्क्रल’ गर्न सकियोस् । बायाँ तथा दायाँ स्क्रलिङ हुनु यो मापदण्ड विपरित हुन्छ ।
३. वेबसाइटमा कुनै कार्यका लागि बनाइएका बटन यस्तो हुनुपर्छ जो सानो स्क्रिनवाला मोबाइलमा पनि सजिलैसँग देखियोस् र क्लिक गर्न सकियोस् ।
गुगलको यो परिवर्तनले त्यस्ता वेबसाइटलाई सबैभन्दा बढि समस्या हुनेवाला छ जो डेक्सटप भर्सनलाई ध्यानमा राखी बनाइएको छ । यस्ता वेबसाइटको ग्राफिक्सलाई मोबाइलमा लोड हुन धेरै समय लाग्छ । यसका अलावा यस्ता वेबसाइटको टेक्स्ट पनि सानो स्त्रिmनमा पूरै फिट नभै दायाँ बायाँ सार्नुपर्छ ।
गुगलले अचानक यस्तो परिवर्तन गरेको होइन । गुगलले केही वर्षदेखि डिजिटल प्लेटर्फमसँग सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिरहेको थियो की उनीहरुले मोबाइल प्रयोगकर्तालाई ध्यान दिएर आफ्ना वेबसाइट बनाउन् किनकी धेरै मानिसहरुले मोबाइलमा सर्च गर्दछन् । यो नयाँ सर्च फर्मूलाको जानकारी पनि २ महिना पहिले दिइएको थियो । गुगलले हरेक वेबसाइटको नयाँ फर्मुला अनुरुप तयार गर्नका लागि निर्देशिका पनि जारी गरेको थियो र त्यो सँगै परीक्षण टुल्स पनि जारी गरेको थियो ।
विश्लेषकहरुका अनुसार गुगलको यो बदलावपछि एकपटक डिजिटल वल्र्डमा फेरि होहल्ला मच्चिने पक्का छ । यसभन्दा पहिले गुगलले सन् २०११ र २०१२ मा गुगल सर्च इन्जिनमा ठूलो परिवर्तन गरेको थियो र त्यतिबेला पनि विवाद भएको थियो । त्यस समयमा गुगलले दाबी गरेको थियो की उसको उद्धेश्य भनेको गलत वेबसाइटहरुलाई सर्च रिजल्टबाट बाहिर निकाल्नु हो । तर कतिपय वेबसाइटहरुले भने गुगलको उक्त परिवर्तनले आफ्ना वेबसाइट कन्टेन्टहरुलाई गुगल सर्च पेजमा खराब र्यांकिङ प्राप्त हुँदा आफुहरुलाई ठूलो नोक्सानी भएको दाबी गरेका थिए । अनलार्इन खबरद्धारा साभार
बाजुरा , ६ बैशाख । स्थानीय उत्पादनको प्रवद्र्धन र विकास गर्ने गरी हाट बजारको सुरुवाद गरिएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था र बडिमालिका हाट बजार व्यवस्थापन समितिको अगुवाईमा हाट बजारको सुरुवाद गरिएको हो । हाट बजार प्रत्येक शनिबार बाजुरा जिल्ला सदरमुकाम मार्तडी स्थित खुला मञ्चमा लाग्ने भएको छ ।
व्यवस्थीत बजार र समान मूल्य प्रणालीको विकास गर्न हाट बजार सञ्चालनमा ल्याएको बजार व्यवस्थापन समिति अध्यक्ष एवं सहकारीकर्मी अमर खड्काले बताउनु भएको छ । उपभोक्ता र विक्री कर्ता दुबैलार्ई सहज गर्न हाट बजारको सुरुवाद गरिएको खड्काको भनाई छ ।
हाट बजारको पहिलो दिन तरकारी किनेर निमत्ति प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले उद्घाटन गरेका हुन् । उहाँले पहिलो पटक अभ्यासका लागि गरिएकोले सुरुमा केहि असहज भएपनि भविष्यका लागि निकै संभावना रहेको बताउनु भएको छ । हाट बजारमा स्थानीय स्तरका उत्पादन हुने सम्पूर्ण खाद्य सामाग्री, तरकारी लगायतका उत्पादन सामाग्री र वस्तु राखिने भएको छ ।
अव्यवस्थीत बजार र फरक फरक मूल्यका कारण उपभोक्ता ठगिने र किसानहरुलाई बढी सास्ती हुने गरेकोमा त्यसलाई सहजता ल्याउन हाट बजारको सुरुवाद गरिएको स्वागत मन्तव्य दिँदै तरकारी किसान डबल रोकायाले बताउनु भएको छ । हाट व्यवस्थापन नहुँदा किसानहरुले प्रत्येक होटल, पसल र घरमा पुगेर तरकारी विक्री गर्दै आएका थिए । होटल व्यवसायीहरुले पनि हाट बजारबाट सहयोग पुग्ने बताएका छन् ।
हाट बजारमा सम्पूर्ण व्यवसायी, स्थानीय उद्यमी सबैले आफ्नो उत्पादन सामाग्री प्रर्दशन तथा विक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ । मौखिक रुपमा मूल्य निर्धारण गरेर, घरघरमा गएर व्यापार गर्दा समयको बर्बादी र बढी कष्ट हुने गरेको किसानहरुले गुनासो गर्दै आएका छन् । किसानहरुको गुनासो लाई संवोधन गर्ने गरी सहकारीको संयोजनमा सुरुवाद गरिएको सहकारी कर्मी काशी विकले बताउनु भएको छ ।
हाट बजारलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन जिल्ला विकास समितिदेखि अन्य सरोकार राख्ने निकायले बजार विस्तारमा सहयोग गर्ने बताएका छन् । शनिबार बाहेक अरु दिन बजारका पसलमा मात्र तरकारी पाईने छ । हाट बजारमा ताजा, गुणस्तरीय र सस्तो मूल्यमा तरकारी पाईने भएकोले हाट बजारको महत्व बढ्दै जाने निमित्त स्थानीय विकास अधिकारी नीरबहादुर शाहीले बताउनु भएको छ ।
हाट बजारमा अन्य उत्पादन सामाग्री राखिने भएपनि तरकारीलाई नै बढी महत्व दिईने बजार व्यवस्थान समिति सदस्य एवं उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताउनु भएको छ । समितिले केहि समय भित्रै हाट बजार सँगै तरकारी बजारको पनि विकास गर्ने भएको छ । जिल्ला सदरमुकाममा मात्र दैनिक जसो २० हजार बढीको तरकारी विक्री हुने गरेको छ । किसानहरुलाई सहज गर्न सहकारीले नै संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । रेडियो बाजुराबाट
काठमाडौं ५ वैशाख । नेपालमा कलर्स मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले कलर्स मोबाइल एफ सिरिजअन्तर्गत विभिन्न विशेषतामुक्त ३ नयाँ मोबाइल एफ ०१०,एफ ०१८ र एफ ०२३ बजारमा भित्राएको छ ।
मोबाइल सेटमा ब्लुटुथ,वायरलेस रेडियो,धेरै समय चल्ने ब्याट्री,युएसबीचार्ज गर्न मिल्ने विशषेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीले एफ ०१० सिरिजको सेटको १ हजार ६ सय ९५ र एफ ०१८ सेटको २ हजार रुपैयाँ मूल्य तोकिएको बताएको छ ।
नेपाली बजारमूल्य २ हजार २ सय ५० रुपैयाँ तोकिएको एफ ०२३ सेटमा २.४ इन्च क्युभिजिए एलसिडी स्क्रिन,ह्यान्ड्स फ्री,एमफएम,एमपी ३ र एमपी ४ का सुविधा छन् ।
सन्तोस उपाध्याय जुम्ला ५ वैशाख । स्याउको विरुवा बिक्र गरेर यस वर्ष जुम्लालाई २७ लाख रुपैयाँ अम्दानी भएको छ । १ सय १० वटा फलफूल नर्सरीबाट १ लाख ७ हजार विरुवा जिल्ला बाहिर बिक्री गरिएको हो ।
स्याउको प्रति विरुवा २५ रुपैयाँका दरले बिक्री गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए । नेपालका ५ ओटै विकास क्षेत्रमा जुम्लाको स्याउको विरुवा पुग्ने गरेको उनले वताए । यस वर्ष सबै भन्दा बढी अर्थात् २४ हजार विरुवा डोल्पा जिल्लामा निर्यात भएको उनले वताए ।
स्याउ आत्म निर्भर कार्यक्रम लागू भईसकेपछि कर्णालीका पाँच वटै जिल्लामा बगैंगा विस्तार भइरहेका छन् । यस वर्ष कर्णालीका ४ जिल्लामा ४० हजार विरुवा निर्यात भएका छन् । जिल्ला भित्रै उत्पादन हुने भएपनि जुम्लाबाट डोल्पामा २४ हजार, मुगुमा ७ हजार ५ सय, कालिकोटमा ४ हजार ५ सय र हुम्लामा ४ हजार निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जानएको छ ।
कलमी प्रविधिबाट उत्पादन गरिएका विरुवा सोलुखुम्बु र दार्चुला पुगेको वरिष्ठ कृषि विकास अधिकृत गैरेले जनकारी दिए । सोलुखुम्बुमा २ हजार र दार्चुलामा ५ हजार ५ सय विरुवा निर्यात भएको हो । जिल्ला कृषि विकास कार्यालयको सिफारिस लिएर मात्रै विरुवा बाहिर लिन पाउने व्यवस्था गरिएको छ । नर्सरी धनीले जिल्ला बाहिरबाट मात्रै २७ लाख रुपैया आम्दानी गरेका हुन् ।
विकाश पराजुली, बुटवल ५ बैशाख । नेपाल युवा उद्यमी मञ्च बुटवलको आयोजनामा बिहीवारदेखि बुटवलमा सुरु भएको क्षेत्रीयस्तरको जुत्ता मेलामा उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको छ ।
नेपाली उत्पादन हाम्रो गौरव भन्ने मूल नाराका साथ जारी मेलामा नेपालका ब्राण्डेड कम्पनीहरूले १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि उपभोक्ताहरूको घुईंचो लागेको छ । नयाँ शैक्षिक सत्र सुरु भएकाले बिद्यार्थी र शिक्षक शिक्षिकाहरूले बढी जुत्ता खरिद गरेको मेला आयोजक युवा उद्यमी मञ्चका कोषाध्यक्ष अखिलेश्वर कसौधनले जानकारी दिए । मेलामा उपभोक्ताहरूको सहभागिता हेर्दा अपेक्षाभन्दा बढी दर्शक आउने र कारोवार पनि बढी हुन सक्ने कसौधनल बताए ।
मेलाकै अवसरमा शुक्रबार मेलास्थल बुटवल उद्योग बाणिज्य संघको सचिवालयमा राष्टियस्तरका जुत्ता उत्पादक कम्पनी र स्थानिय बिक्रेताहरूबीच व्यवसायिक अन्तरक्रिया सम्पन्न भएको छ । त्यस अवसरमा राष्ट्रिय उत्पादक र स्थानीय बिक्रेताहरूले नेपाली जुत्ताको बजार तथा माग बढदै गएकाले जुत्ताको गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गर्न नहुनेमा जोड दिएका थिए ।
उनीहरूले बिदेशी कम्पनीका जुत्ताहरूको ग्यारेण्टी वारेण्टी नहुने र भएपनि व्यवहारिक कार्यान्वयन सम्भव नभएकाले स्वदेशी जुत्ताको ग्यारेण्टी वारेण्टी सहितको सेवालाई जनतालाई बिश्वसनीय रूपमा दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै छाला जुत्ता तथा बस्तु उत्पादक संघका केन्द्रीय अध्यक्ष रबिन श्रेष्ठले नेपाली जुत्ताहरूले सामूहिक व्यापार चिन्ह लिएर बिक्रि बितरण गर्ने योजना रहेको पनि जानकारी दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिजय संघका अध्यक्ष महेशमान सिंह, छाला जुत्ता तथा बस्तु उत्पादक संघका महासचिव मनोज कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघ अन्र्तगतको फुटवेयर समितिका सभापति शोभाखर पोख्रेल, स्थानिय बिक्रेता उत्तम देवकोटा, हरि बहादुर बम्रेल, मेगा सुज इण्डष्टिजका ज्ञानेन्द्र दाहाल, सम्राट सुज इण्डटिजका प्रमोद महतो लगायतले जुत्ताको गुणस्तर, मुल्यमा एकरुपता र बिक्री पछीको सेवाका सम्वन्धमा ग्राहकलाई दिनुपर्ने सेवाका सम्वन्धमा छलफल गरेका थिए ।मेलाका संयोजक सुमोदमान सैजुको सभापतित्व, सचिव सन्दीप कसौधनको स्वागतमा भएको कार्यक्रमको सञ्चालन निरज लाकौलले गरेका थिए ।
कृष्ण बिसी, नवलपरासी ५ बैशाख । नवलपरासीमा वितेको ९ महिनामा सवारी साधनमाथि गरिएको कारवाहीबाट १ करोड ३१ हजार रुपैँया राजश्व सकंलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी हवल्दार पदम बडुले दिएको जानकारी अनुसार साउन महिनादेखि चैत महिनासम्म २९ हजार १ सय १५ सवारी साधनलाई कारबाही गरिएको हो । सकंलित राजश्व मध्य सबै भन्दा धेरै मसिंर महिनामा सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
अघिल्लो बर्षभन्दा धेरै राजश्व सकंलनमा बृद्धि भएको पनि प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग भएकाले ओभरलोड, सवारी नियम उल्लघंन, मापसे, लाईसेन्स, बिलबुक, लगाएतका शीर्षकमा धेरै कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
संखुवासभा ५ बैशाख । भोजपुरमा क्रियाशिल पत्रकार श्यामकृष्ण दाहालको उपचारका लागि पत्रकार महासंघ संखुवासभा शाखाले आर्थिक सहयोग गरेको छ ।
महासंघले दाहालको उपचारका लागि ६ हजार ५ सय खातामा जम्मा गरिदिएको अध्यक्ष इन्द्र गिरीले बताउनुभयो ।
जिल्लाका क्रियाशिल पत्रकारहरुबाट संकलन गरिएको रकम महासंघ मार्फत पठाइएको हो । पत्रकार दाहालको दुबै मृगौलामा खराबी आएपछि सहयोग संकलन भइरहेको छ ।











.jpg)