मान्ठा डराउने जुग नआओस
– श्रीभक्त खनाल
पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पुस्तकको एउटा अध्याय पढेपछि मेरा मनमा अनेक तरंग आए । कति सरल र मीठो भाषामा उनले लेखेका रहेछन द्वन्द्वकालका अनुभव । त्यो जुगमा डराएका माण्ठा (मान्छे) मध्ये म पनि थिएँ । आफूँ हिडेका ठाउँ र भेटिएका पात्र मेरा मनमा एकैचोटी पहिरो झै आए । कसको कुरा लेख्ने कसको नलेख्ने ?
त्यतिबेला सर्वसाधारण डराएका थिए । सेना डराएका थिए । प्रहरी डराएका थिए । पत्रकार डराएका थिए । माओवादी डराएका थिए । नेपालमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि डराएका थिए र मैनालीले भने झै जुग नै डराएको थिए ।
समाचार छापिएपछि थवाङ र भद्रकाली हेडक्वाटर्स समाचारका अक्षर गन्थे र हिसाब गर्थे कसको भागमा कति प्रतिशत समाचार पर्यो भनेर । यसका आधारमा समाचार लेख्ने पत्रकारलाई कताको हो भनी वर्गीकरण गरिन्थ्यो । म जस्तो कुनै पनि पार्टीको सदस्य नभएको र समाचारलाई समाचारकै रुपमा मात्र प्रस्तुत गर्ने पत्रकारलाई पनि एउटा पार्टीमा राखिदिन्थे । सबै मान्ठाका कथा भन्न सम्भव छैन । त्यसो गर्नु पनि पर्दैन किनभने मान्छे र उनीहरुले पाएको यातनाको प्रकृति मात्र फरक थियो, पीडा सबैको एउटै । म अहिले सक्रिय पत्रकारितामा छैन । त्यसबेला डायरी पनि बनाइएन । त्यही भएर खास ठाउँ, मान्छेको पूर्ण विवरण र मिति सम्झन गाह्रो भयो । ती मानिस कहाँ, कस्तो अवस्थामा छन्, त्यो पनि थाहा छैन ।
माण्ठ नं १: द्वन्द्वकालमा लमजुुङ पुगेको थिएँ । कसैले बतायो–फलानो ठाउँमा मीनबहादुर भण्डारी नामका मानिस छन् र जासुस भएको आरोप लगाएर माओवादीले उनको एउटा गोडा काटिदिएका छन् । भण्डारीलाई भेट्न पुग्दा उनी घरमा रैनछन् । बोलाउन पठाएँ र घरको पिढीँमा पर्र्र्र्खिएँ । आधा घण्टा जति पछि वैशाखी टेक्दै उनी आए र भने, “को हुनुहुन्छ कुन्नि, लौ म त मर्नलाई आएँ हजुर ।” ओहो कस्तो जुग ! नचिनेको मान्छेलाई देख्दा मार्न आएको ठानेर आफैलाई पर्सिने । अवाक् भएँ । उनले आफ्ना बारेमा बताए– आक्रमणपछि माओवादीले मर्यो भनेर छोडेका उनलाई तत्काल उद्दार गरिएकाले बाँचेका रहेछन् । जोडिने आशामा काटेर छिनालिएको गोडालाई डोकामा राखेर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइयो तर गोडा जोडिएन, संभव भएन । धेरै समय अस्पताल बसेर घर फर्किएका उनी नौलौ मान्छे आयो कि मार्नै आए जस्तो लाग्छ भन्थे । कठै त्यो जुग, ती मान्छे, ती पीडा !
माण्ठ नं २: काठमाण्डौंमा मेरो घर थिएन । डेरामा महत्वपूर्ण सामग्री थिए जो भविष्यमा अध्ययन अनुसन्धानका लागि उपयुक्त थिए । माओवादीका पोस्टर, हस्तलिखित दस्तावेज र अन्य थुप्रै पुस्तक टिनको बाकसमा हालेर गोङ्गबु स्थित साथी दिनेश लोहनीको घरमा लगेर राखेँ । केही महिना पछि म छात्रबृति पाएर अध्ययनका लागि डेनमार्क गए । पढाई सकेर फर्किए पछि ती सामग्री हेर्न मन लाग्यो र बाकसका बारेमा सोधे । उनले भने केही दिन अघि राती घर घरमा सेना आएका थिए । मध्यरातमा सुतेकालाई उठाउँदै घरको खानतलासी लिए । दुई घर पर्तिरसम्म खानतलासी लिँइसक्दाँ मिर्मिरे भएपछि खानतलासी स्थगन गरी सेना फर्किए । सेना फर्र्र्किए भन्ने थाहा पाएपछि दिनेशले सबै सामग्री घर अगाडि जलाएछन् । डढेका पुस्तकका पानाका अक्षर बुझिएला कि भनेर पानी खन्याएछन् । उनले मलाई सोधे, “ज्यान ठूलो कि सामग्री ?” मसँग उत्तर थिएन ।
मान्ठ नं ३: सुर्खेतको राकममा माओवादी र सरकारी सुरक्षाकर्मी बिच भीडन्त भयो, मारमा परे सर्वसाधारण । गोली बारुदको दोहोरो प्रहारले खरको छानोमा आगो सल्कियो । थुप्रै गरिबका घर खरानी भए । म त्यहाँ पुग्दा डढेका धान चामल र कपडाको गन्ध बस्तीमा फैलिएको थियो । गोबरका थुप्रा जस्ता काला काला बस्तु पनि भेटिए । दाउराले यसो पल्टाएर हेरे । ती जलेका भाँडाकुँडाका अवशेष थिए । समाचार सँगसँगै जमिनमा छरिएका थ्री नट थ्री र अन्य राइफलका पड्किसेकका खोका संकलन गरें । सोचें यी भविश्यमा काम लाग्न सक्छन् । आगामी पुस्ताको लागि एउटा इतिहास हुनेछ । अन्यन्तै डरका साथ काठमाडौं ल्याए तिनलाई । कसकोमा राख्ने ? समस्या आइलाग्यो । अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी) ले मद्दत गर्ला भने लाग्यो र हानिएँ नयाँ बानेश्वर । त्यहाँ कार्यरत जँ क्लड एसनबर्गरलाई चिनेको थिए । उनलाई देशमा शान्ति छाएपछि फिर्ता पाउने गरी ती सामान राखिदिन आग्रह गरें । “ब्यक्तिगत रुपमा यी मेरा सामग्री हुन तर, यिनले इतिहास बोकेका छन् । इतिहासलाई जोगाउन पनि कृपया यी सामान तपाइले राख्ने प्रवन्ध मिलाईदिनुहोस ।” उनी नेपाली बोल्थे र अनुवादकको काम गर्थे ।
मेरो आग्रह ठाडै अस्वीकार गरिदिए । बडा अप्ठेरो समयमा कसले राखिदिन्थ्यो खोका ? विदेशी भएकोले उनी प्रति मलाई अलिकति आशा जागेको थियो । मान्छेको मूल्य नभएको समयमा त्यसको के मूल्य ? दिक्क लाग्यो । अर्को दिन गल्कुपाखाको डेराबाट निस्केर बालजु चोक नजिक विष्णुमति पुल माथि पुगेँ । पुलबाट खोका भएको प्लाष्टिकको पोको फालिदिए । असीम पीडा भयो । आफैलाई पुलबाट हुत्याए जस्तो भो । पाँच मिनेट जति टोलाएर हेरे प्लाटिकको पोको लेदोमा झन झन गाँडिदै गयोे । रुमालले मुख पुछेर कोठामा फर्किएँ । कुनै ठूलो अपराध गरेको आभास भो, रातभर निन्द्रा लागेन । घटनाको धेरै वर्ष पछि राकम पीडितलाई थोरै भए पनि राहत मिल्यो भन्ने सुने, मनमा थोरै सन्तोष भयो ।
मान्ठ नं ४: सेनाद्वारा मारिएकी काभ्रेकी बालिका मैना सुनारसँगै समातिएकी थिइन बिमला विक । उनकै भनाईमा माओवादी भएको आरोप लगाएर उनलाई चरम यातना दिइएको थियो । कुनै ठाउँमा कसैको सहयोगमा मैले उनलाई भेटेको थिएँ । (लाग्छ, सहयोगी र स्थान खुलाउने समय अझै आइपुगेको छैन्) । उनले मलाई गोडा र पाखुराका विभिन्न ठाउँमा ब्लेडले चिरेर नुन खुर्सानी दलिएका खत देखाइन् । मानवीय आधारमा उनलाई केही सहयोग जुटाईदिएँ । पछि उनलाई डिल्लीबजार जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि उनी कता गइन मरिगए पत्तो लगाउन सकिएन । मैले सुने अनुसार माओवादी र सेना दुबैले निगरानीमा परेपछि उनी सम्पर्क विहिन भएकी थिइन् ।
मान्ठ नं ५: लमजङ दुराडाँडामा शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले २०५८ सालमा मारे । म कार्यरत संस्था हिमालखबर पत्रिकाका सम्पादक राजेन्द्र दाहालको सुझावमा म समाचार संकलन गर्न गएँ । हात पछाडि बाँधेर रुखमा झुण्ड्याएको शवको फोटो कसैले खिचेको थियो । त्यो मेरो हात पर्यो । एकजना विद्यार्थीको मोटो गाता भएको पुरानो कापी मागे । मोटो गातालाई दुई भाग हुने गरी उधारे र त्यस भित्र फोटो राखेर त्यसमा जिल्दा लगाएँ । दुराडाँडाबाट काठमाडौं आउँदा बाटोमा भोग्नुपर्ने अनेकौं खानतलासीबाट बच्न त्यसो गरेको थिए । यो रहस्य अहिले खोलेको हुँ । फोटो कसले खिचेको भन्ने कुरा हिमाल खबरपत्रिका र मैले अहिले सम्म खुलाएका छैनौं । हिमाल खबरपत्रिकामा काम गर्दा नै रिपोर्टिङका लागि रुकुमको गरायला पुगेको थिएँ । बस्ने खाने प्रवन्ध माओवादीले मिलाए ।
एउटा घरको तलामा सुत्ने ब्यवस्था भयो । खाट नजिक झ्याल थियो । सेनासँग लुटिएका दुईटा ह्यान्ड ग्रिनेड झ्यालमा तयारी अवस्थामा राखिए । बाँकी ग्रिनेड ऊनीको झोलामा । मसँगै सुतेका माओवादी घुर्न थाले तर बम बारुदसँग अभ्यस्त नभएको मलाई सिरानीनेर विस्फोटक पदार्थ देख्दा देख्दै कसरी निन्द्रा परथ्र्यो र ! आँखा झिमिक्कै नगरी बिहान भयो । कुरा उही लडाइँका बेलाको हो । रोल्पा जाँदै थिएँ । गाडी सुलिचौरमा रोकियो । प्रहरी चौकी अगाडि चेक जाँचका लागि । एक यात्रुले गाडीको छतमा फलामको फ्रेम भित्र कुखुरा राखेर सदरमुकाम लिवाङ लाँदै थिए । एक जना प्रहरी दुइटा कुखरा बाहिर निकालेर चौकितिर लम्किए । चेकजाँच सकियो । गाडी अगाडि बढ्यो । को, कहाँबाट, किन, कसलाई, कसरी, कहिले ? जस्तै अनेकौ अड्चन ब्योहोर्नु भन्दा दुईटा कुखुरा मन्साएर नै अगाडि बढ्ने नीति सबैलाई उपयुक्त लाग्यो । हामी सबै मुखामुख ग¥यौं । तै चुप मै चुप । बसको झ्यालबाट यसो बाहिर हेर्छु त अजङ्गको सिमलको रुखमा बाँसको भर्याङ बनाएर मचान बनाइएको रहेछ ।
मचानमा थ्रि नट थ्री बोकेका प्रहरी तैनाथ थिए । मैले सुने अनुसार धेरैजसो प्रहरी दिउसो सुत्थे र रातभरी जाग्राम बस्थे । हतियार बोकेर पनि उनीहरु हामीभन्दा बढी डराएका थिए । अब अन्तिम भोगाईबाट लेखको बिट मार्छु । गोर्खा र तनहुँ जोड्ने ठाउँमा मस्र्याङदी नदी माथि सेनाले बेली ब्रिज हालेको थियो । जोडेको केही दिनमा पुल लच्कियो । उर्लदो भेल नजिक बसेर एउटा मानिस ढुंगा थुपार्दै थियो । फिल्म वाला यासिका क्यामराबाट सबै दृश्य आउने गरी एक क्लिक गरेपछि उसले भन्यो- “के गरको ?’ “फोटो खिचेको ।” किन खिचेको ? “पुल राम्रो लागेर ।” “कसले खिच्न पठायो ?” “आफ्नै मनले । ” “के काम गर्छौ ?” “पत्रकारिता । ” ती सेनाका मान्छे हुन भन्ने छनक कुराबाटै थाहा पाइन्थ्यो । एक क्लिक फोटो खिच्दैमा केही बिग्रेको थिएन । उनले मलाई केही घण्टा केरकार गरे । गोली ठोक्ने धम्की दिनेदेखि पत्रकारिताको कक्षा समेत लिन भ्याए ।
पत्रकारिता के हो ? नेपालमा पत्रकारिताको अवस्था कुन ढंगले गएको छ ? अरु देशमा पत्रकारिताको अवस्था के छ भन्ने देखि लिएर उनले भ्रमण गरेका देश र त्यहाँ उनले गरेका बहादुरीको वर्णन गर्न सम्म भ्याए । सवाल जवाफ गरेर कुनै फाइदा नहुने देखेर मैले टाउँको मात्र हल्लाईरहँे । अन्तिममा उनले मलाई चाहेको भए गोली ठोक्न सक्ने बताउँदै मेरो मोबाइल नम्बर मागे । मैले दिएँ । उनले आफ्नो सालोको नम्बर दिएर भने, “यो क्यामराको फिल्म चाहेको भए मैले निकाल्न सक्थेँ तर, तिमीले फिल्म धोएर नेगेटिभ बनेपछि त्यो काटेर मेरो सालोलाई दिनु । शंकरदेव क्याम्पस नेर घर छ । ऊ लिन आउँछ ।” मैले एउटा फोटो प्रिन्ट गरेर फिल्म दिन सक्थें तर त्यसो गर्न सकिनँ । फिल्म काटेर उसको सालोलाई दिएँ किनकि म पनि माण्ठा डराएको जुगको एक माण्ठा थिएँ र मूर्खको ओखती हुन्न भन्ने पनि पढेको थिएँ । खोटाङमा मारिएका हर्कबहादुर राईको हत्या सम्वन्धी समाचार संकलन गर्न चिसापानी पुगेको थिए ।
उति बेलाको किराँत राष्ट्रिय मुक्ति मोर्चा र माओवादी बिच उनलाई मार्ने नमार्ने भन्ने सन्दर्भमा विवाद भएको थियो । जातियताको कुरा भर्खर उठाइँदै थियो र चिसापनीमा रहेको विपी कोइरालाको सालिक तोडफोड गरिएको थियो । १ फागुन २०५८ मा हिमाल खबरपत्रिकामा छापिएको ‘घातक साँठगाँठ’ नामको कभर स्टोरीले नेपालमा जातियताको मुद्दा कसरी अघि बढ्न लागेको छ भन्ने छनक दिएको थियो । सो आलेख छापिएपछि मलाई निकै धम्की आए । जातियताको विषय नेपालमा कसरी र कुन तरिकाले जाँदैछ भनी तेह्र वर्ष अगाडि नै त्यो आलेख छापिएको थियो । त्यसयता विषयले अनेकौं श्रृंखला पार गरेको छ । चुच्चे, थेप्पे, मधेशी, पहाडी, धार्मिकता, पहिचानवादी जस्ता अनेक रंग त्यसमा मिसिएका छन् । थाहा छैन यसले देशलाई कहाँ पुर्याउँछ ? आशा गरौं फेरि मान्ठासँग मान्ठा डराउने जुग नआओस ।
shreebhakta@gmail.com पूर्व पत्रकार खनाल हाल पोर्चुगलमा छन्
साभार :हिमाल खबर पत्रिका
0 comments