जुत्ता मेलामा उपभोत्ताको बाक्लो घुइचो

विकाश पराजुली, बुटवल  ५ बैशाख ।  नेपाल युवा उद्यमी मञ्च बुटवलको आयोजनामा बिहीवारदेखि बुटवलमा सुरु भएको  क्षेत्रीयस्तरको जुत्ता मेलामा उपभोक्ताहरूको उत्साहजनक सहभागिता रहेको छ ।

नेपाली उत्पादन हाम्रो गौरव भन्ने मूल नाराका साथ जारी मेलामा  नेपालका ब्राण्डेड कम्पनीहरूले १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेपछि उपभोक्ताहरूको घुईंचो लागेको छ । नयाँ शैक्षिक सत्र सुरु भएकाले बिद्यार्थी र शिक्षक शिक्षिकाहरूले बढी जुत्ता खरिद गरेको मेला आयोजक युवा उद्यमी मञ्चका कोषाध्यक्ष अखिलेश्वर कसौधनले जानकारी दिए । मेलामा उपभोक्ताहरूको सहभागिता हेर्दा अपेक्षाभन्दा बढी दर्शक आउने र कारोवार पनि बढी हुन सक्ने कसौधनल बताए ।

मेलाकै अवसरमा शुक्रबार मेलास्थल बुटवल उद्योग बाणिज्य संघको सचिवालयमा राष्टियस्तरका जुत्ता उत्पादक कम्पनी र स्थानिय बिक्रेताहरूबीच व्यवसायिक अन्तरक्रिया सम्पन्न भएको छ । त्यस अवसरमा राष्ट्रिय उत्पादक र स्थानीय बिक्रेताहरूले नेपाली जुत्ताको बजार तथा माग बढदै गएकाले जुत्ताको गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गर्न नहुनेमा जोड दिएका थिए ।

उनीहरूले बिदेशी कम्पनीका जुत्ताहरूको ग्यारेण्टी वारेण्टी नहुने र भएपनि व्यवहारिक कार्यान्वयन सम्भव नभएकाले स्वदेशी जुत्ताको ग्यारेण्टी वारेण्टी सहितको सेवालाई जनतालाई बिश्वसनीय रूपमा दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै छाला जुत्ता तथा बस्तु उत्पादक संघका केन्द्रीय अध्यक्ष रबिन श्रेष्ठले नेपाली जुत्ताहरूले सामूहिक व्यापार चिन्ह लिएर बिक्रि बितरण गर्ने योजना रहेको पनि जानकारी दिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिजय संघका अध्यक्ष महेशमान सिंह, छाला जुत्ता तथा बस्तु उत्पादक संघका महासचिव मनोज कुमार श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघ अन्र्तगतको फुटवेयर समितिका सभापति शोभाखर पोख्रेल, स्थानिय बिक्रेता उत्तम देवकोटा, हरि बहादुर बम्रेल, मेगा सुज इण्डष्टिजका ज्ञानेन्द्र दाहाल, सम्राट सुज इण्डटिजका प्रमोद महतो लगायतले जुत्ताको गुणस्तर, मुल्यमा एकरुपता र बिक्री पछीको सेवाका सम्वन्धमा ग्राहकलाई दिनुपर्ने सेवाका सम्वन्धमा छलफल गरेका थिए ।मेलाका संयोजक सुमोदमान सैजुको सभापतित्व, सचिव सन्दीप कसौधनको स्वागतमा भएको कार्यक्रमको सञ्चालन निरज लाकौलले गरेका थिए ।

0 comments

Post a Comment