जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको अवस्थामा सुधार भएको स्वास्थ्य सचिव श्रेष्ठले दाबी
काठमाडाैं ५ बैशाख । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको अवस्थामा पुगेको दाबी गर्नुभएको छ । जाजरकोटसँग जोडिएका अन्य जिल्लामा रोग फैलन नदिन सचेतना अपनाईएको र अहिलेसम्म फैलिएको चारवटा गाविसमा पनि नियन्त्रणको अवस्थामा पुगेको श्रेष्ठको भनाई छ ।
रिपोर्टस क्लब नेपालले आज राजधानीमा गरेको कार्यक्रममा स्वास्थ्य सचिव श्रेष्ठले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर ६ वटा विशेष टोली परिचालन गरिएकोले अहिलेसम्म जाजरकोटमा ३ हजार जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ७५ प्रतिसत विरामीमा अरु नै रोग पाईएको, फ्लु देखिएका २५ प्रतिसत मध्ये करिब सात प्रतिसतमा स्वाईन फ्लुको जिबाणु भेटिएको जानकारी दिनुभयो ।
मुख्य सचिव नेतृत्वको समितिले तत्कालिन उपचार र दिर्घकालमा समस्या आउन नदिने उपायको खोजी गरिरहेको जानकारी दिदै जाजरकोटको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्ने तयारीमा रहेको बताउनुभयो । यसैवीच स्वाथ्य मन्त्रालय अन्तरगको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले आज साँझ सम्ममा नेपाली सेनाको १२ जना विशेषज्ञ सहितको टोली पनि जाजरकोट जाने जानकारी दिदै निजी क्षेत्रका मेडिकल कलेजहरुले समेत चासो देखाएको बताउनुभयो ।
जाजरकोटमा सुरुमै ७१ सय किलो, स्वास्थ्यमन्त्रीसँग २ सय किलो र आज पुग्ने गरी २५ सय टक्की औषधी पठाईसकिएको उल्लेख गर्दै महामारी नियन्त्रणको लागि सरकारले उच्चस्तरीय संयन्त्र नै बनाएर काम गरिरहेको मरासिनीको दाबी छ । मरासिनीले सूरु सुरुमा एउटा क्याम्पबाट एक दिनमा २ सय सम्म विरामीको परिक्षण गरिएकोमा अहिले छ वटा क्याम्पमा एक दिनमा १ सय ८५ मात्रै विरामी परिक्षणको रिपोर्ट आएकोले महामारी नियन्त्रणमा आउन थालेको पाईएको दाबी गर्नुभयो ।
यस्तै एकीकृत नेकपा माओवादीका तर्फबाट बिजयी जाजरकोटका सभासद शक्तिबहादुर बस्नेतले उपचार केन्द्र राखेको स्थानमा मात्र रोगको प्रकोप घट्न थालेको भन्दै जिल्ला भरी फैलने सम्भावना झन् बढेकोले राज्यले थप सक्रियता देखाउनुपर्ने बताउनुभयो । दैलेखदेखि डोल्पासम्मको क्षेत्रमा रोग फैलिने क्रममा रहेकोले जिल्लाका १३ वटा नाकामा उपचार केन्द्र स्थापना गरि रोग नियन्त्रणका लागि प्रयास गर्न सरकारसंग माग गर्नुभयो ।
जाजरकोटका नेपाली काग्रेस सभासद राजिब विक्रम शाहले सरकारलाई जाजरकोटको विकट भुगोलको विषयमा आवश्यक जानकारी नभएकोले तत्काल उपचार पुर्याउन ढिलाई भएको बताउँदै दुर्गम क्षेत्र भएकोले रोग नियन्त्रणकालागि चिकित्सक तयारी अवस्थामा राख्नु पर्ने बताउनुभयो ।
0 comments